आइतबारको मौसम : केहीबेर मौसम खुलेपनि फेरि ‘हुरीबतास चल्छ, मेघ गर्जनसहित पानी पर्छ’ -मौसमविद
काठमाण्डौ , चैत २४ । देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । अहिले मौसम खराब भए पनि अब केहीबेर पछि काठमाण्डौसहित मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने उनको अनुमान छ ।
तर पूर्वमा भने मौसम खुल्ने संभावना कम रहेको उहाँको भनाइ छ । केहिबेरपछि मौसम खुल्ने मध्य र पश्चिममा दिउँसोपछि भने फेरि बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद् कँडेलले बताए ।
आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ । तर आत्तिनुपर्ने अवस्था भने नरहेको मौसमविद् कँडेलले बताए ।
प्रिमनसुनमा दिउँसोपछि बदली भई मेघगर्जन र हुवाहुरी चल्ने भए पनि केहीदिनयता नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरी कै मौसम बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्