आजदेखि चैतेदशैंको नवरात्र शुरु, दुर्गा भवानीको शक्तिपीठहरुमा पूजाआज गरेमा शक्ति प्राप्त हुने

काठमाडौं, २३ चैत । आजदेखि चैत्र शुक्ल प्रतिपदा नवरात्र शुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष पूजा आजा गरिन्छ । आश्विन (शुक्ल पक्ष) बडादशैंमा जस्तै यस चैतेदशैँमा देशभरका दुर्गा भवानीको शक्तिपीठहरुमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले भवानीको शक्तिपीठहरु तथा घरघरमा देवीको पूजा आजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा ग्रन्थ पाठगर्ने चलन छ ।

चैत्र शुक्ल अष्टमी र नवमीलाई चैते दशैं भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने मनाइन्छ । । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ ।

वर्षमा चार नवरात्र पर्छन् । चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ ।

आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उनले बताए । चैत्र नवरात्र शुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका कालिञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, शैलेश्वरी, बागेश्वरी, गढिमाई, , मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मीक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्