मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने वा नहुने, मौसमको पर्खाइमा छौं : अध्यक्ष धुर्मुस

काठमाण्डौ, २३ चैत । धुर्मुस सुन्तली फाउण्डेसनको आयोजनामा आज हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने नहुने अन्यौल भएको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि बिहानैदेखि हुरीबतास र चट्याङसहित पानी पर्न थालेपछि कीर्तिपूरको त्रिवि मैदानमा बिहान १० बजे हुने प्रतियोगिता हुने वा नहुने अन्यौल भएको हो ।

आयोजक धुर्मुस सुन्तली फाउण्डेसनले तयारी पूरा भएकाले १० बजेसम्म मौसम खुले, खेल हुने जनाएको छ । चितवनको भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ बनाउन कलाकारको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले खेल्ने तयारी गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ( धुर्मुस ) ले जनाएको छ ।

पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच रोमाञ्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल आयोजना हुने तयारी छ ।

भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगिता गर्न लागिए पनि संकलित रकमको १५ प्रतिशत हावाहुरी प्रभावितलाई खर्च गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्