५ वटा शहरमा भीषण डढेलो: एक जनाको मृत्यु, सरकारद्वारा राष्ट्रिय प्रकोप घोषणा

काठमाडौं, चैत २२ । दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरिएको छ ।

भीषण आगलागीका कारण गोस्योङ, सोक्चो, गाङन्योङ, दोङघाइ र इन्जे शहर प्रभावित भएका छन् ।

डढेलोका कारण एक जनाको ज्यान जानुका साथै अन्य ११ जना घाइते भएका छन् ।

केन्द्रीय राजधानी सोलबाट झण्डै २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जङ्गलमा स्थानीय समयानुसार बिहीबार राति आगलागी सुरु भएको थियो ।

तीव्र हावाहुरीका कारण जङ्गलको डढेलोले झण्डै दुई सय ५० हेक्टर वन क्षेत्र ध्वस्त भएको छ भने एक सय २५ वटा घर क्षतिग्रस्त भएका छन् ।

हजारौँ स्थानीयबासीलाई रातारात सकुशल उद्धार गरिएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले राति नै राष्ट्रिय प्रकोप व्यवस्थापन निकायसँग छलफल गर्नुभएको थियो ।

उहाँले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न आदेश दिनुभएको छ । तीव्र बेगको हावा र अँध्यारोका कारण अग्निनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ ।

यस डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । उद्धार कार्यमा १० हजारभन्दा बढी अग्नि नियन्त्रक, सुरक्षाकर्मी र अन्य उद्धारकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्