प्रधानमन्त्रीको आलोचना गर्ने सेनाका दुई पूर्वसहायक रथीलाई कारबाही
काठमाडौं, चैत २२ । नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ ।
सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो । शुक्रबार उनीहरुलाई पत्रचारसमेत गरी सचेत गराइने जंगी अड्डा स्रोतले बताएको छ ।
‘त्यो लेभलको अधिकारीले सैनिक मर्यादाको ख्याल गर्नुपर्छ ।’ सैनिक स्रोतले भन्यो, ‘आफूले लिएको सपथलाई बिर्सेर जथाभावी टिप्पणी गरेको सुहाउँदैन ।’
सेना परिचालन विधयेकलाई उनीहरुले एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतको कडा आलोचना गरेका थिए ।
बानियाँले अन्तरवार्तामा बोल्दै विधयेकले ‘खशीको मासु पाइन्छ भनेर बाख्रीको मासु बेच्ने नियत’ राखेको टिप्पणी गरेका छन् । उनले भने, ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’
बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिन पिङको नक्कल गर्न खोजेको भन्दै टिप्पणी गरेका थिए । उनले भनेका छन्, ‘उहाँको धरातल हेर्नुस् । जनमत सधै एउटै हुदैन ‘पिपल पाते’ तरिकाले सेना परिचालन गर्नु भयो भने जसरी पाकिस्तानमा सेनाले राजनीति गर्न सुरु गर्यो, त्यसरी नै नेपालमा पनि पुनः सुरु हुन्छ ।’
सैनिक अधिकारीलाई अवकाशपछि पनि विभिन्न सेवा सुविधा दिइने भएकाले अवकास भएको कम्तिमा दुई वर्षसम्म सार्वजनिक रुपमा बोल्न मिल्दैन ।
प्रतिक्रिया दिनुहोस्