प्रजातान्त्रिक समूहको अग्रता कायमै, २५ सय ८५ मत गणना गर्न बाँकी

काठमाडौं, २० चैत । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा पछिलो मतगणनानुसार प्रजातान्त्रिक समूहले अग्रता कायमै रहेको छ ।

उपत्यकाबाहिरको ३ हजार ४ सय ८७ मत गणनाकार्य सकिंदा प्रजातान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनीलकुमार पोखरेलले १७ सय ८७ र वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठले १५ सय ६१ मत ल्याएका छन् । पोखरेलले २ सय २६ मतले अग्रताले उछिनेका हुन् ।

८ वटा उपाध्यक्ष पदमा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएको छ । महिलामा कविता थापा कार्की, प्रदेश १ मा डिल्लीबहादुर कार्की, प्रदेश २ मा सुधीकरकुमार कार्की प्रदेश ३ मा राजेश्वर अधिकारी, गण्डकी प्रदेशमा निरन्जनलाल राजभण्डारी, प्रदेश ५ मा सुनीलकुमार श्रेष्ठ, कर्णालीमा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशीले अग्रता लिएका छन् ।

महासचिवमा पनि प्रजातान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता लिएका छन् । पौडेलले १७ सय ९५ र वामपन्थी समूहका सुरेन्द्र थापामगरले १४ सय ९५ मत प्रप्त गरेका छन् ।

कोषाध्यक्षमा पनि प्रजातान्त्रिक समूहका तेजबहादुर रावलले १६ सय ९४ र वामपन्थी समूहका रुद्रप्रसाद पोखरेलले १५ सय ७० मत ल्याएका छन् । अन्य पदहरुमा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएको छ । नेपाल बार एशोसिएसनको २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चैत १६ गते देशभरका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।

अब उपत्यकाको ३८ सय ७४ मत मध्ये १२ सय ८९ मत बुधबार गणना भईसकेको र २५ सय ८५ मत बिहीबार गणना हुने प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्