भीषण हावाहुरी: उद्धार तथा राहतमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन, मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने


काठमाण्डौ , चैत १८ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

गएराति बारा, पर्सालगायतका जिल्लामा भीषण हावाहुरीका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै उनले ती क्षेत्रमा राहत तथा उद्धारमा परिचालन हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सोमबार बिहान ट्वीट गर्दै देउवाले घाइतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारसँग मागसमेत गरेका छन् ।

मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने

आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ ।

सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्