बारा र पर्सामा भीषण हावाहुरीः जनधनको ठूलो क्षति उद्दारको काम चल्दै, अस्पताल घाइतेले भरिए, २७ जनाको मृत्यु

काठमाडौं, चैत १८ । आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको पुष्टि भएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् ।

बारामा अहिलेसम्म कम्तिमा २६ जनाको ज्यान गएको पुष्टि भएको जिल्लाका डिएसपी हेमबहादुर शाहीले दिएका छन् ।

उनले भने, ‘अहिलेसम्म जिल्लामा १५ जना महिला र ११ जना पुरुष गरि कम्तिमा २६ जनाको ज्यान गएको पुष्टि भएको छ । अहिले पनि उद्धारको काम जारी छ ।’

राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हावाहुरीपछि विद्युत्त अवरुद्ध भएकाले राति उद्दारको काम प्रभावकारी हुन नसकेको हो ।


यस्तै पर्सामा एकजनाको ज्यान गएको त्यहाँका एसपीले जानकारी दिएका छन् । जिल्लाका एसपी रेवती ढकालले अहिलेसम्मको जानकारी अनुसार पर्सामा एकजनाको ज्यान गएको पुष्टि भएको हो ।
घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल, गण्डक अस्पताल, विरगञ्ज हेल्थ केयर, नेशनल मेडिकल कलेजमा उपचार भइहरेको छ ।

हावाहुरीले घर भत्किँदा, बिजुलीको पोल ढाल्दा र केही ठाउँमा गाडी समेत पल्टिँदा धनजनको ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति नै ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको उद्धार र उपचारमा कुनै कमी आउन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्