स्वावलम्बन लघुवित्तको कारोबार अब अनलाइन प्रणालीमा

काठमाडौं, चैत १७ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र इन्फोडेभलपर्सबीच माइक्रोफाइनान्स कोर बैंकिङ्ग सिस्टम जडान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

वित्तीय संस्थाको कारोबारलाई अनलाइन प्रणालीको माध्यमबाट कार्यान्वयन गर्दा सेवाग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराउन र संस्थाको व्यवस्थापन सूचना प्रणाली व्यवस्थित बनाउन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले करार पत्रमा हस्ताक्षर गरेका छन् ।

करार पत्र हस्ताक्षर समारोहमा वित्तीय संस्था संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठ, संचालकद्वय राम प्रसाद पाण्डे र विष्णु प्रसाद त्रिपाठी, वित्तीय संस्थाका कर्मचारीहरु साथै इन्फोडेभलपर्सका कार्यकारी निर्देशक लगायत कर्मचारीहरुको उपस्थिति थियो ।

संचालक समितिका अध्यक्ष श्रेष्ठले वित्तीय संस्थाको सेवालाई अझ छिटो, छरितो र परिस्कृत ढंगले अगाडी बढाउन सफ्टवयेर कार्यान्वयन प्रकृयालाई चाँडो सम्पन्न गर्न निर्देशन दिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्यालले कम्पनीले लघुवित्त संस्थाहरुमा सफ्टवयेर सम्बन्धी कार्य गरिरहेकोले अझ सुदृढ तरिकाले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको आवश्यकता बमोजिम कार्य गर्ने विश्वास लिएको बताए ।

इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत रघुवंशीले स्वावलम्बन जस्तो संस्थासंग कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफुले लिएको जिम्मेवारी पूर्ण रुपमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्