दिल्लीबाट १२ नेपाली महिलाको मध्य रातमा उद्दार


काठमाडौं, चैत १७ । दिल्लीबाट १२ नेपाली महिलाको उद्दार गरिएको छ । कामको खोजीमा कुबेत, इराक र दुबई लैजाने प्रलोभनमा पारेर नयाँ दिल्लीमा बन्धन बनाएर राखिएका १२ ति नेपाली महिलाको शनिबार मध्य रातमा उद्धार गरिएको हो।

नयाँ दिल्ली बाहिरको क्षेत्रमा पर्ने द्धारकाको कुतुव बिहार र श्याम बिहारमा छापा मारेर उनीहरुको उद्धार गरिएको हो। दिल्ली महिला आयोग तथा दिल्ली पूलिस छावला थाना तथा के आइ नेपालको संयुक्त पहलमा शनिबार साँझदेखि आइतबार बिहानसम्म विभिन्न तीन ठाउँमा छापा मारेर दुई स्थानबाट उनीहरुको उद्दार गरिएको हो।

कुतव बिहारबाट ८ जना र श्याम बिहारबाट ४ जनाको उद्धार गरिएको हो। उदय राना नामको निकै पुरानो दलालले यी महिलालाई दिल्ली पुर्‍याएको बुझिएको छ। रानाको विरुद्ध दिल्ली पुलिसको छावरा थानामा मानव वेचविखन विरुद्ध मुद्दा पनि दर्ता गरिएको उद्धारमा संलग्न केआई नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीले जानकारी दिए।

दलालले पछिल्लो समयमा महिलालाई बन्धक बनाउने स्थान परिवर्तन गरेका छन्।


नेपालको पूर्वदेखि पश्चिमबाट आएका महिलामध्ये धादिङबाट ३, झापाबाट २,दाँगबाट २ , मकवानपुरबाट २ ,रसुवा र धनगढीबाट एकर एक गरी १२ जना रहेको उद्धारमा संलग्न केआइ नेपालका नवीन जोशीले जानकारी दिए।

२२देखि ४० वर्ष उमेर समूहमा रहेका यी महिला महिला आयोग मातहतको संरक्षण गृहमा राखिएको छ। जोशीका अनुसार प्रकृया पुर्‍याएर उनीहरुलाई नेपाल फर्काइने छ।

प्रतिक्रिया दिनुहोस्