राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून: अख्तियारले बढायो निगरानी

काठमाडौं , चैत १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको आयोजनाको प्रगति न्यून भएपछि निगरानी बढाएको छ।

राष्ट्रिय गौरवका आयोजनामध्ये भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र बबई सिंचाईं आयोजनाका प्रमुखलाई आयोगमा नै बोलाएर समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न निर्देशन दिएको छ।

आयोजनामा निर्माणको ढिलाईमा अख्तियारले चासो देखाएको छ। आयोजनाको अस्वाभाविक लागत बढ्ने प्रवृत्तिका मुलुकलाई भार थपिरहेको छ।

निर्णय प्रक्रियामा हुने ढिलासुस्ती, योजनाबद्ध तरिकाले खरिद कार्य नहुने प्रचलन बढेको छ।

अख्तियारले जथाभावी म्याद थप तथा भेरिएसन गर्ने प्रवृत्ति, अन्तरनिकायगत समन्वयको अभाव लगायत आयोजनामा हुन सक्ने अन्य अनियमितताको विषयमा ध्यानाकर्षण गराएको छ।

प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोजना काम गुणस्तरीय रुपमा समय सम्पन्न गर्न निर्देशन दिएका हुन्।

आयोजनाका प्रमुखका साथै भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सहसचिवलाई बोलाएर आयोजनाको अद्यावधिक अवस्था र कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीमा अख्तियार चासो दिएका हुन्।

राज्यको ठूलो लगानी भएका राष्ट्रिय गौरवका आयोजनामा स्रोत साधनको सही सदुपयोग गरी गुणस्तरीय कार्य समयमा नै सम्पन्न गर्न अभिप्ररित गर्ने तथा आयोजना कार्यान्वयनको समयमा आइपरेका समस्याका सम्बन्धमा छलफल पनि भएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए।

समाधानका लागि सहजीकरण गर्ने उद्देश्य अनुरूप राष्ट्रिय गौरवका आयोजनाका मुख्य सरोकारवालासँग छलफल गर्ने नीति अनुसार कार्यक्रमको आयोजना गरिएको उनले बताए।

उनले अन्य अलपत्र आयोजनाको सम्बन्धमा नियमित छलफल गराउने समेत बताए। आयोजनाको तर्फबाट आयोजनाको कार्यान्वयनको सम्बन्धमा प्रस्तुतिकरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्