सनराइजर्स हैदराबादको पहिलो जित, राजस्थान रोयल्सलाई ५ विकेटले हरायो

काठमाडौ, १६ चैत । इण्डियन प्रिमियर लिग (आइ पि एल्)मा सनराइजर्स हैदराबादले दोस्रो खेलमा पहिलो जित निकालेको छ ।

घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले हरायो । राजस्थान रोयल्सले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । हैदराबादका लागि ओपनरहरु डेभिड वार्नर र जेनी बेरिस्टोले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए । वार्नरले ३७ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाउँदा २८ बल खेलेका बेरिस्टोले ६ चौका र १ छक्काको साथमा ४५ रन बनाए ।

कप्तान केन विलियम्सले १४ रनमात्र बनाउन सके । चौथो नम्बरमा ब्याटिङमा आएका विजय शंकर १५ बलमा १ चौका र ३ छक्कासहित ३५ रन बनाएर आउट भए । युसुफ पठानले १६ र रशिद खानले १५ अविजित रन बनाएपछि हैदराबादले एक ओभरअघि नै खेल जितेको हो । रशिदले छक्का प्रहार गरी खेल जिताएका हुन् ।

बलिङतर्फ राजस्थानका श्रेयश गोपालले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले सन्जु साम्सनले शतकीय पारीको सहयोगमा १ सय ९९ रनको लक्ष्य पेश गरेको थियो । राजस्थानले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ९८ रनको योगफल बनायो ।

राजस्थानका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका सन्जु साम्सनले ५५ बलमा १० चौका र ४ छक्काको सहयोगमा अविजित १ सय २ रनको शतकीय पारी खेले । यसअघि ओपनर कप्तान अजिन्क्या राहनेले पनि ४९ बलमा ७० रनको विस्फोटक पारी खेलेका थिए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । जस बटलरले ५ रन बनाएर आउट भए भने बेन स्टोक्सले अविजित १६ रन बनाए ।

हैदराबादका लागि रशिद खान र सइद नदीमले एक–एक विकेट लिए । राजस्थानका लागि भने यो लगातार दोस्रो हार हो । यसअघि राजस्थानले किंग्स ११ पञ्जाबसँग पराजय ब्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्