अन्तिम अभ्यास खेलः आन्ध्र प्रदेश नेपाली युवा टिमसंग ५ विकेटले पराजित

काठमाडौं, चैत १४ । नेपाली युवा टिमले अन्तिम अभ्यास खेलमा आन्ध्र प्रदेशको युवा टिम माथि जित निकालेको छ ।

आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रीय प्रतियोगिताको तयारीका लागि भारतमा रहेको नेपाली युवा टिमले आन्ध्र प्रदेशको युवा टिमलाई ५ विकेटले हराएको हो ।

पहिले ब्याटिङ गरेको आन्ध्रले ५० ओभरमा नौ विकेट गुमाउँदै २२० रन बनाएको थियो । उसका लागि रवि किरणले सर्वाधिक ४५ रनको योदगान दिए । यस्तै सुब्रमन्यमले ३८, धरानी कुमारले ३७ रन बनाए ।

बलिङतर्फ सूर्य तामाङ र पवन सर्राफले २–२ विकेट लिए । प्रतिश जिसीले पनि एक मेडनसहित एक विकेट लिए । यस्तै कमल सिंह ऐरी र भीम शार्कीले एक(एक विकेट लिए ।

२२१ रनको लक्ष्य नेपालले ४८ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले ६५ रन बनाए भने रोहित पौडेल र भीम सार्कीले समान ४५–४५ रन बनाए । यस्तै रविकुमार शाहले ३७ रन थपे । नेपालले सुरुवात भने राम्रो गर्न सकेको थिएन । उनले १२ रन बनाउँदा दुई विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि रवि र आसिफ शेखले दरिलो साझेदारी गरेका थिए ।

चार अभ्यास खेलका लागि भारत गएको नेपाली युवा टिम अब स्वदेश फर्किनेछ । भारतमा भएको अभ्यास खेलका आधारमा नेपाली टिमको अन्तिम टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्