कर्मचारी समायोजनको काम सकिएको सरकारको घोषणा, कति भए समायोजन ?

काठमाण्डौ, चैत १४ । सरकारले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छोटो समयमा नै संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै काम सम्पन्न गर्न सरकार सफल भएको बताए ।

आफ्नो एक वर्षे कार्यकालमा कर्मचारी समायोजन सक्नु जस्तो चुनौतिपूर्ण काम आफूले सम्पन्न गराएको भन्दै उनले अब कर्मचारी अभावको गुनासो आउन नदिने गरि काम भइरहेको बताए ।

सरकारले लिएको सुखी र समृद्ध नेपालको अभियान अनुरुप मन्त्रालयले काम अघि बढाइरहेको उनले बताए ।

उनले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको पनि बताए।

सरकारले यही आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ । देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भईरहेको गुनासो आईरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको पनि बताए ।

अब लोक सेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि आवेदन खुला गर्नेछ । आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गर्ने मन्त्री पण्डितको योजना छ ।

मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोक सेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि बताए।

कति समायोजन ?

पत्रकार सम्मेलनमा समायोजनमा गएका कर्मचारीको विवरण समायोजन महासाखाका प्रमुख केदारप्रसाद पनेरुले प्रस्तुत गरेका छन् । जसमध्ये संघमा स्वीकृत भएको ४८ हजार ४ सय ९ दरबन्दीमा ४० हजार ७ सय ६९ जना समायोजन भएर गएको बताए ।

यस्तै प्रदेशतर्फ २२ हजार २ सय ९७ दरबन्दीमा १४ हजार ६ सय ५९ समायोजन गएको स्थानीय तर्फ ६६ हजार ९ सय ८ मध्ये निजामतिबाट ३१ हजार ४३ जनाको समायोजन बताए ।

यसमध्ये साविकका स्थानीय तहका १० हजार ५ सय ४०, साविकका जिविसबाट १ हजार २ सय ४१ र अन्य सेवाबाट ३ सय १६ कर्मचारी गरि १२ हजार ९७ जनाको पनि समायोजन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्