आईपीएलमा कोलकाताको लगातार दोस्रो जित, पञ्जाव २८ रनले पराजित

काठमाडौं, चैत १४ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

कोलकाताको इडन गार्डेन मैदानमा गएराती भएको खेलमा घरेलु टोलीले किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्‍यो ।

खेलमा दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाताले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । उसका लागि मायांक अग्रवालले ५८ रन तथा डेभिड मिल्लरले अविजित ४३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

उसका लागि रोबिन सिंह उथप्पाले ६७ रन जोड्दा नितिश रानाले ६३ रनको योगदान दिए ।

जितसंगै कोलकाताले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा कोलकाताले सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो ।

रविचन्द्र आश्विनको कप्तानीमा रहेको पन्जाबको भने प्रतियोगितामा यो पहिलो हार हो ।

पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्