चितवनबाट पक्राउ परे नेत्रविक्रम समूहका सात जिल्ला नेता !
काठमाडौं, चैत १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुमध्ये ६ को म्याद थप गरिएको छ भने एकजना बुधबार बिहानमात्र पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीकाअनुसार फागुन २९ गतेदेखि बुधबारसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ‘विप्लव’ समूहनिकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी संघका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इन्चार्ज जयबहादुर कुँवर रहेका छन् ।
बुधबार बिहान पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने रेग्मीले बताए ।
भरतपुर महानगरपालिका–५ को कार्यालयमा विस्फोट गराएको अभियोगमा मुद्दा दर्ता गरी फरार रहेका १५ जनाको खोजी भइरहेको उनले बताए ।
पक्राउ परेकालाई बम विस्फोट र संगठित अपराधअन्तर्गत् मुद्दा दर्ता गरिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जिल्लामा ‘विप्लव’ समूहका नेताको खोजीकार्य भइरहेको बताए ।
स्थानीय प्रशासनले जिल्लामा घर भइ बाहिर कार्यक्षेत्र रहेका केन्द्रीय नेतामाथि पनि निगरानी बढाएको उनले बताए ।














प्रतिक्रिया दिनुहोस्