अस्पतालमा हवाई आक्रमण, सातजनाको मृत्यु

काठमाडौं, चैत १३ । यमनको एक अस्पतालमा भएको हवाई आक्रमणमा कम्तिमा सातजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चारजना बालबालिका रहेको छन् । घटनाको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले निन्दा गरेको छ ।

यमनमा अस्पतालमा सहयोग गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनका अनुसार अरु दुईजनाको अवस्था अज्ञात छ । अस्पतालको मुल गेटसँगै गरहेको पेट्रोल स्टेशनमा भएको आक्रमणका कारण अस्पतालमा क्षति पुगेको हो ।

मिसाइल आक्रमण भएका बेला अस्पताल केही समयका लागि खुला रहेको बेला परेकाले उपचारका लागि बिरामीको चाप थियो । ज्यान गुमाउनेमा एकजना स्वास्थ्यकर्मी पनि छन्, उनका दुई सन्तानको पनि ज्यान गएको छ ।

साउदी अरेबियाको नेतृत्वमा हुथी बिद्रोहीविरुद्ध कारवाही अभियान चलाउँदै आएको गठबन्धन सेनाले आक्रमण गरेको बताइएको छ । घटनामा अरु ८ जना घाइते भएका छन् ।

गठबन्धन सेनाले यमनको हवाई क्षेत्रमा लगभग पूर्ण नियन्त्रण कायम गरेको छ । बिद्रोही र गठबन्धन सेनाको आक्रमणको केन्द्रमा सवैसाधारण पर्ने गरेका छन् । यमनमा सन् २०१५ देखि हिंसाको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्