नेपाल वायु सेवा निगमले जुलाइदेखि जापानको ओसाका उडान भर्ने
काठमाडौँ, चैत १२ । नेपाल वायु सेवा निगमले जुलाइदेखि जापानको ओसाका उडान भर्ने भएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको हो ।
जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ ।
कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महिनादेखि ओसाका उडान औपचारिक रुपमा शुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
जापान एभिएसनबाट उडान अनुमति पाएपछि उडान तयारीका लागि ४५ दिन लाग्ने छ भने अनुमति आएपछि पनि थप ३० देखि ४५ दिन निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनमा समय लाग्नेछ ।
एक दशक अघि निगमको काठमाडौँ–जापान सीधा उडान बन्द भएको थियो । निगमले काठमाडौँ–ओशाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत् उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि ६ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ ।
निगमले चीनको गोन्जावो उडानका लागि पनि कागजी प्रक्रिया शुरु गरेको छ । सातामा तीन उडान गर्ने योजना छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहेपछि साउदी र कोरिया उडानका लागि केहीसमय लाग्ने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्