राष्ट्रियसभामा विज्ञापन नियमन गर्ने विधेयक बहुमतले पारित, गलत विज्ञापन गरे १ वर्ष कैद र १० हजार जरिवाना

काठमाडौं,चैत १० । राष्ट्रियसभाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई पारित गरेको छ ।

आईतबार बसेको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथिको छलफल पछि संसोधन सहित विधेयकलाई बहुमतले पारित गरेको हो ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनको १ देखि १६ सम्मका संसोधित बुँदा सहित विधेयक पारित भएको हो ।

गलत विज्ञापन गरेमा १ वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्थासहितको विज्ञापन नियमन विधेयक, २०७५ राष्ट्रियसभाबाट पारित भएको छ।

उक्त विधेयक अब प्रतिनिधिसभामा पेस हुँदै पारित भएपछि मात्र प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय जानेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र उक्त विधेयकले ऐनको रुप लिनेछ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेको विधेयकलाई राष्ट्रियसभाले बहुमतले पारित गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रियसभामा पेस गरेको विधेयकमा विज्ञापनसम्बन्धी केही कसुरलाई सरकारवादी मुद्दा भनिएको छ। दर्जनौं विषयलाई विज्ञापन गर्न नहुने शीर्षकमा राखिएको छ। गर्न नहुने विषयलाई कसुरमा राखेर जरिवानादेखि जेलसम्मको सजाय निर्धारण गरिएको हो।

यसअघि विधायन समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको सन्र्दभमा नया र नगरिन हुने विषय भएकाले व्यवहारमा प्रभाव पारेका विषयलाई मात्रै विधेयकमा उल्लेख गरिएको स्पष्ट पारे ।

उनले कानुनबाट नै बाध्यकारी बनाउनका लागि सजायको व्यवस्थालाई त्यही ढंगले राखिएको भन्दै आवश्यकताका आधारमा संशोधन गर्दै लैजान सकिने बताए । छलफलमा सदस्यहरुले कानुनी प्रावधान कडा राखिएको भन्दै कम गर्नुपर्ने धारणा राखेको थिए ।

प्रतिक्रिया दिनुहोस्