इण्डियन प्रिमियर लिग: सन्दिप लामिछानेको टिमले आज खेल्ने

काठमाडौं, चैत १० । इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको १२ औं संस्करणमा साबिक विजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।

गएराति भएको उद्घाटन खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंङ्लोरलाई ७ विकेटले हराउँदै महेन्द्र सिंह धोनीको चेन्नईले सुखद सुरुवात गरेको हो ।

खेलमा बैंङ्लोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । यस्तै सुरेश रैनाले १९ रन जोडे । योसँगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंङ्लोरले १७ ओभर १ बलमा अलआउट हुनुपूर्व ७० रन मात्रै बनाएको थियो ।

बैंङ्लोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३र३ विकेट लिए ।

आईपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । आजको पहिलो खेलमा कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदरावाद भिड्दा दोस्रो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच हुनेछ ।

नेपालका सन्दिप लामिछानेको टोली दिल्लीले राति सवा आठ बजे मुम्बईसँग खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्