ऋण तिर्न नसक्दा साहूले लगाए वादीको घरमा ताला, बिचल्लीमा परिवार
काठमाडौं, ८ चैत । बलबच्चाको पढाइ, घर खर्च र विवाहका लागि साहुसंग लिएको ऋण तिर्न नसक्दा जयपृथ्वी नगरपालिका–१० चैनपुरका सुरेन्द्र वादीको बिचल्ली भएको छ ।
वादीले स्थानीय लक्ष्मी सुनारबाट १० वर्ष अगाडि लिएको रु. ३० हजार ऋण तिर्न नसक्दा साहुले घरमा ताला लगाइदिएपछि उनीहरुको घरवास बिहिन भई बिचल्लीमा परेका हुन् । अहिले उनी शरणार्थी भई बस्न बाध्य भएका छन् । साँवा ब्याज जोडेर उनले रु ७३ हजार साहुलाई तिर्न बाँकी छ । ऋण तिर्न नसकेर साहुले घरमा ताला लगाइदिएपछि आफूहरु अर्काको घरमा बस्न बाध्य भएको सुरेन्द्रका भाई कमल वादीले बताउनुभयो ।
सुरेन्द्रको घरमा जस्तै अरुको घरमा ताला लगाएको त छैन तर ऋण नतिरे घरमा ताला लगाइदिन्छु भनेर साहुले धम्काउने गरेको वादीहरु बताउँछन् ।
हरिना वादी र पुनी वादीले पनि भुजीदेवी सुनारबाट क्रमशः रु २० हजार र रु २२ हजार ऋण लिएका छन् । ऋण तिर्न नसक्दा साहु सुनारले घरमा ताला लगाइदिन्छु भन्दै दिनहुँ मानसिक तनाव दिने गरेको हरिना वादीले बताइन् ।
त्यस्तै बम्म वादीले साहु लक्ष्मी सुनारलाई रु एक लाख र जुनतारा वादीले साहु भुजीदेवी सुनारलाई रु ९३ हजार ऋण तिर्न बाँकी छ । गाउँघरमा मजदूरी गरेर र मागेर छाक टार्ने वादी समुदायले घरको आवश्यकता टार्न साहुबाट लिएको ऋण तिर्न नसक्दा अहिले उनीहरुलाई आफ्नै घरमा बस्नबाट वञ्चित हुनुपर्ने अवस्था छ ।
तेह्र वादी परिवारको बसोबास रहेको चैनपुरमा स्थानीय छ जना सुनार साहुबाट उनीहरुले लिएको ऋण करिब रु. सात लाख ७० हजार पुगेको उनीहरु बताउँछन् । यी त एक प्रतिनिधि घटना मात्र हुन् । अधिकांश वादीकोहरुको पीडा यस्तै छन् । दिन भर काम गरेर छाक तार्न कठिन हुने अवस्था छ, साहुको ऋण तिर्न त कहाँ हो कहाँ ? यस्ता घटनाहरु धेरै छन् ।
नेपाल सरकारले जनता आवास कार्यक्रममार्फत वादीका घर निर्माण गरिदिएपछि साहुहरुले अहिले ऋण असुलउपर गर्ने कार्यमा तदारुकता देखाएको छ । ‘या त लिएको ऋण तिर, नत्र तिम्रो नयाँ घरमा ताला लगाइदिने धम्की दिन थालेपछि वादी समुदायको चिन्ता थपिएको हो ।
जग्गाधनी लालपूर्जा र नागरिकता प्रमाणपत्र धरौटीमा राखेर साहुले ब्याजमा उनीहरुलाई ऋण दिएका छन् । “हामीजस्ता गरीब र विपन्न वादी समुदायले कहिल्यै उन्मुक्ति नपाउनुका पछाडि सुनार जातका साहु पनि हुन्”, चैनपुरकी पुनी वादीले भनिन्, “हामीलाई दुःख अप्ठ्यारो पर्दा साहु सुनारले ऋण दिएको ठीक हो तर ब्याज बढाउँदै जाँदा धेरै ऋण तिर्नुपर्ने अवस्था आएको हुँदा समस्या बढेको छ ।”
वादीहरुका अनुसार रु १० देखि १५ हजारसम्म ऋण लिएका हाँै तर साहुहरुले ब्याज थपेर बढी रकम बनाएको बताउँछन् । सुनार जातिको अगाडि डरले केही भन्न बोल्न नसक्ने तथा साहुले जबर्जस्तीले तमसुकमा ल्याप्चे लगाउने गरेको उनीहरु बताउँछन् । ऋण दिदाँ साहु सुनारले अधिवक्ताबाट कागज बनाएर तमसुक पक्का गर्ने गरिन्छ । वादीहरुको तमसुक कागजबमोजिम लक्ष्मी सुनारलाई चार लाख ४५ हजार तिर्नु पर्ने देखिन्छ ।
यसका साथै भुजीदेवी सुनारको ९३ हजार ८००, सानु चित्रकारको ४६ हजार, नरेश चित्रकारको नौ हजार ५००, रामगिरी सुनारको चार हजार ६०० र राधिका सुनारको एक लाख ७१ हजार ५०० गरी कुल सात लाख ७० हजार वादीहरुले लिएको ऋण तिर्नुपर्ने लक्ष्मी सुनारले बताउनु भयो । उनले भन्नुभयो, “वादीले बिरामी हुँदा, विवाह गर्दा र अन्य चाडपर्वमा खर्च भनेर मागेको हो, समयमै नदिएपछि ब्याज बढ्दै गएको छ ।” यसरी ऋण लिनेमा टेक वादी, पदम वादी, राजु, धर्म, बम्म, सुरेन्द्र, राधा, गगन, जुनतारा, अम्मर, बिजुली र कित्थी वादी रहेका छन् ।
वादीको ऋण चुक्ता गर्न पहल गर्ने भनेर जनता आवास कार्यक्रम सञ्चालनका लागि साहुसँग धितोमा राखेको लालपूर्जा र नागरिकता मागेर वादीका घर निर्माणमा पहल गर्दै आएको जयपृथ्वी नगरपालिका– १० का वडाध्यक्ष दलबहादुर विष्टले बताउनुभयो । “घर त हामीले बनाइदियौँ तर वादीको ऋण चुक्ता गर्न समस्या भएकाले साहुहरुले नयाँ घरमा बस्न अवरोध गर्दै आएको छ”, उहाँले भन्नुभयो, “वादीका आठ परिवारका घर बनाएका छौँ अन्य पाँच परिवारको बाँकी छ तर उनीहरुको लालपूर्जा साहुको कब्जामा रहेकाले अंशबण्डा पनि भएको छैन ।” अध्यक्ष विष्टले साहुको ऋणको तमसुकको फोटोकपी गरेर ऋण असुलीका लागि सरोकारवाला निकायमा पहल समेत गरेको बताए ।
यी त वझाङ्गका वादीका पीडा हुन्, भने अन्य स्थानका वादीको पनि उस्तै विकराल अवस्था छ । यो समस्याप्रति सरकार र सरोकारवाला निकाय गम्भिर हुन आवश्यक छ ।














प्रतिक्रिया दिनुहोस्