विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक-२०७५ बहुमतले पारित
काठमाण्डौ, चैत ८ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक-२०७५ पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए ।
त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले विधेयकमा प्रतिनिधि सभाबाट केही विषयमा संशोधन भएको र आवश्यक परे भविष्यमा संसोधन गर्न सकिने भएकाले विधेयक पास गरी सहयोग गर्न आग्रह गरेका थिए ।
संयुक्त संशोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौँ नेपालीको रोजीरोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गरे ।
कार्गो पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउँदा स्वदेशी कामदारको रोजीरोटी खोसिने भन्दै ७ नम्बर अनुसूची थप गरी त्यसलाई समावेश गर्न माग गर्दै उहाँले संशोधन दर्ता गराएका थिए ।
विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरापालन, व्यक्तिगत सेवा व्यवसाय, घर जग्गा खरिद बिक्रीलगायत साना साना उद्योग व्यवसायलाई नेगेटिभ लिस्टमा राखी ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आउँदो आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।














प्रतिक्रिया दिनुहोस्