मलेसियामा अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

काठमाण्डौ, चैत ८ । मलेसियामा रहेको नेपाली दूतावासले अलपत्र परेका १६ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।

घर फर्किनको लागि टिकट काट्ने खर्च नभइ जुरु घरफिर्ती केन्द्र र जोहरवारु घरफिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपालीलाई दूतावासले घर फर्काएको हो ।

मोरङका महेन्द्र खवास, कमल मगर, बलराम खरेल, इलामका राम लिम्बू, किशोर राई, दाङका हरिद्वारप्रसाद यादव, रुपन्देहीका दिलिपकुमार मल्ल, पाँचथरका अनिल आङ्थापो, स्याङ्जाका राजु कार्की, नवलपुरका राम दरस कोहर, तनहुँका टेकबहादुर थापालाई दूतावासले नेपाल फर्काएको हो ।

त्यसैगरी, उदयपुरका लालश्री राई, नवलपरासीका दिपक कुमार यादव, रोल्पाका अशोक पुन मगर, ताप्लेजुङका भरतकुमार लिम्बू र महोत्तरीका अरबिन्दप्रसाद साहलाई घर फर्काइएको दूतावासले जनाएको छ ।

फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ जना र चैत ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० जनालाई उद्धार गरी दूतावासले स्वदेश पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्