नेपालले आज कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्दै, कस्तो रहला त प्रदर्शन ?

काठमाडौं , चैत ७। नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

कुवेतमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

स्वीडेनका योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समालेपछि नेपालको यो पहिलो खेल हो ।

नेपाली राष्ट्रिय फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको हो । दोस्रो खेल आगामी मंगलबार हुनेछ ।

नेपाली सिनियर टोलीका आधा दर्जन खेलाडी अहिले युथ–२३ प्रतियोगिता खेल्न कतार पुगेका छन् । यसले राष्ट्रिय टोलीको खेलाडी छनोटलाई केही सिमित पारिदिएको छ ।

नेपाल र कुवेत १९ बर्षपछि खेल्न लागेका हुन । यसअघि सन् २००० मा भएको एएफसी एसिया कपमा नेपाललाई कुवेतले ५–० ले हराएको थियो ।

कुवेतसँग नेपाली फुटबलको निकै पुरानो साईनो छ । नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल कुवेत विरुद्धकै थियो ।

सन् १९८२ मा वाइबी घलेले कुवेत विरुद्ध गरेको गोल नै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल हो । त्यसपछि भने नेपालले कुवेत विरुद्ध गोल गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्