लगानी सम्मेलन लक्षित विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौं, चैत ५ । लगानी सम्मेलन लक्षित विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ ।

यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलन लक्षित विदेशी लगानी तथा प्रविधी हस्तान्तरण विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको हो ।

राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा सैद्धान्तिक छलफल गरी सर्वसम्मतिले स्वीकृत भएसंगै संशोधन दर्ता गर्न बाटो खुल्ला भएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद राधेश्याम अधिकारीले ऐन बनाएर मात्र विदेशी लगानी भित्र्याउन सकिने भन्दै त्यसका लागि वातावरण बनाउनुपर्ने बताए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री युवराज खतिवडाले लगानीको वातावरण बनाई लगानी कर्ताको पुँजी सुरक्षित गर्न विधेयक ल्याएको बताए ।

औद्योगिक व्यवसाय ऐन, लगानी बोर्ड ऐन जस्ता ऐनले पनि नेपालमा लगानी सुरक्षित हुने मन्त्री खतिवडाले बताए। प्रतिनिधि सभाले पारित गरेर पठाएको सो विधेयक आजै बसेको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले टेबल गरेका थिए ।

लगानी सम्मेलनको समय आइसकेको र समय कम भएकाले आजै दुइवटा बैठक बसेर सैद्धान्तिक छलफल सकिएको हो ।

आजको पहिलो बैठकले राष्ट्रिय खेलकुद विकास विधेयक र प्रतिनिधि सभाबाट आएको भूउपयोग विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्