निर्मला पन्त हत्या प्रकरणः फरार एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भए

काठमाडौं, चैत ५ । एसपी डिल्लीराज विष्टले गरे आत्मसमर्पण गरेका छन् । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण मेटाउन भूमिका खेलेको आरोप लागेका एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् ।

उपस्थित भएसँगै विष्टसँग बयान लिने काम भएको छ । बयान सकिएमा थुनछेक बहस हुने छ । अदालतमा उपस्थित विष्टले आफू फरार नभएको जिकीर गरेका छन् ।

आफैँ अदालत उपस्थित भएकाले यसलाई फरार भन्न नमिल्ने एसपी विष्टको प्रतिक्रिया छ ।

यसअघि एसपी विष्ट र डिएसपी अंगुर जिसीलाई ३५ दिन भित्र हाजिर हुन पत्र काटिएको थियो ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा ‘यातना र सार्वजनिक न्याय बिरुद्धको कसुर’मा कञ्चनपुरमा कार्यरत तत्कालिन प्रहरी अधिकृतविरुद्ध मुद्दा परेको थियो ।

अभियोग लागेका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काले जनही नौ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।

प्रहरी निरीक्षक जगदिश भट्टले चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदले दुई लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्