साफ महिला च्याम्पियनसिपः नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

काठमाडौं, चैत ३ । पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह चरणको अन्तिम खेलमा श्रीलंका भारतसँग पराजित भएपछि सेमिफाइनलमा नेपालको सामना गर्ने भएको हो ।


समुह बीको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–०गोलले हराएपछि नेपालले श्रीलंकालाई प्रतिद्धन्द्धी पाएको हो ।

शहीद रंगशाला विराटनगरमा भएको खेलमा भारतले सुरुवातदेखि नै श्रीलंकाको पोष्टमा आक्रमण गरेको थियो । जसका कारण उसले सात मिनेटभित्रमा नै दुई गोल गर्न सफल भयो ।

खेलको चौथो मिनेटमा ग्रिस डाङमेको गोलमा भारतले अग्रता बनायो । प्रतियोगिताको उनको यो दोस्रो गोल हो । त्यसपछि सातौ मिनेटमा भारतले दोस्रो गोल गर्यो ।

उसका लागि संध्या रंगनाथनले गोल गर्न सफल भइन् । त्यसपछि पनि भारतले आफ्नो आक्रमणलाई कायमै राख्यो ।

२१ औं मिनेटमा भारतको डरलाग्दो मौकालाई श्रीलंकाकी गोलकिपर विजयरत्नाले बचाइन् । २५ औ मिनेटमा भारतको अर्को प्रहारलाई श्रीलंकाको डिफेन्सलाइनले बचायो । त्यसपछि खेलको ३६ औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई तीन शून्यको अगेरता दिलाइन् ।

४२ औं मिनेटमा भारतले पेनाल्टीको अवसर पायो । भारतकी सञ्जुको प्रहार रोक्ने क्रममा श्रीलंकाली खेलाडीले हातले बल छोएपछि पाएको पेनाल्टीलाई संगिताले गोल गर्दै टिमलाई पहिलो हाफमा चार शून्यको अग्रता दिलाइन् ।

पहिलो हाफमा चार गोलको अग्रता बनाएको भारतले दोस्रो हाफको सुरुवातमा नै पाँचौ गोल गर्‍यो । ४६ औं मिनेटमा रतनबालादेवीले गोल गर्न सफल भइन् ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र भारत समूह बी बाट विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । हारपछि पनि उपविजेता बनेको श्रीलंकाले सेमिफाइनलमा बुधबार नेपालसँग र भारतले बंगलादेशसँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्