दुई महिनादेखि बन्द रहेको नाग्म–गमगढी राजमार्ग डोजरले हिउँ पञ्छाउदै खुलाइयो

काठमाडौं, चैत ३ । भारी हिमपातका कारण दुई महिनादेखि बन्द रहेको जुम्लाको नाग्म – गमगढी राजमार्ग खुलेको छ ।

हिमपातले बाटोमै जमेको ५ फिट हिउँ नपग्लिएपछि बन्द भएको बाटो सडक डिभिजन कार्यालय जुम्लाको डोजर प्रयोग गरी खुलाइएको हो ।

लामो प्रयासपछि हिउँ कम भएपछि डोजरले पञ्छाएर बाटो खुलेको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर श्रवण कुमार महाताराले जानकारी दिए । अहिले बाटो खुलेपछि गाडीहरु धमाधम मुगु जान थालेका छन् ।

सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि डोजर लगाएर बाटो खुलाउने प्रयास गरे पनि हिउँ थपिरहने भएकाले समस्या भएको थियो । बाटो खुलाउन माघ १७ गतेदेखि सडक डिभिजन कार्यालयका कर्मचारीहरु खटिएका थिए ।

यसैगरी मुगु खण्डको आर्मी क्याम्प देखी झारनाउलासम्म हिउँ पञ्छाएपछि गाडी पुगेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
दुई महिनापछि गाडी पुगेपछि भने मुगुमा दैनिक उपभोग्य सामानहरु सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्