राप्रपा प्रजातान्त्रिकका नेता को भनाई- नेकपाको शासनकालमा देश भ्रष्टाचारमा चुर्लुम्म डुब्यो
काठमाडौं, चैत ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको बताएका छन् ।
‘वाइड बडी, बुढी गण्डकी र मेलम्ची प्रकरणहरुले सरकार भ्रष्टाचारमा डुबेको प्रमाणित गर्दछ । सरकार भ्रष्टाचारबाट डुङडुङ गनाएको छ । पछिल्लो अवस्था हेर्दा, सरकारले केन्द्रको भ्रष्टाचार गाउँ गाउँ पुर्याएको छ,’ अध्यक्ष राणाले भने ।
दुईतिहाईको बहुमतप्राप्त सरकारबाट स्थायित्व र विकास हुन्छ भन्ने जनअपेक्षा विपरीत देशमा कुशासन र अनियमितता व्याप्त रहेको भन्दै अध्यक्षद्धयले चिन्ता समेत व्यक्त गरेका छन् ।
‘नेकपाकै सांसद सहभागी रहेको लेखा समितिले वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्यो । सरकारले अध्यक्षसहित अन्य दुई सदस्य रहने आयोग गठन गर्ने घोषणा गर्यो । तर त्यो आयोगले जिम्मोवारी पत्र पाउदै पाएन । वाइडबडी, सुन प्रकरण जस्ता अनेक घटनाक्रमले सरकारले सुशासन नभएर कुशासन दिएको प्रष्ट गर्दछ । सरकालाई भ्रष्टाचार र कुशासनको पहिलो दर्जाको तक्मा लगाइदिए हुन्छ,’ अध्यक्ष उनले भने ।
काँग्रेस र कम्युनिष्टहरुले हिन्दु राष्ट्रको पहिचान मेटेर अन्याय गरेको बताउदै राणाले भने नेपालको मौलिक पहिचान पूर्नस्थापना हुनुपर्दछ , ‘हिन्दु राष्ट्रको पहिचान कायम गर्नलाई हामी आन्दोलन समेत गर्न तयार छौं ।’
सिके राउतसँग सहमति गरेर सरकारले के गर्न खोजेको भन्ने प्रष्ट नभएको अध्यक्ष राणाले बताए । ‘सहमति गरेको भोली पल्ट राउतले मधेस नेपालमा कहिले समावेश नभएको, सधैं अलग रहेका बताए । सरकारले यसबारे मौनता साँधेको छ, सरकारले धारणा प्रष्ट गर्नुपर्दछ ।’
‘सिके राउत सँगको संझौतामा सरकारले राष्ट्रिय एकता विपरीत गम्भीर लापरवाही गरेको छ,’ अध्यक्ष लोहनीले भने ।
प्रतिक्रिया दिनुहोस्