गोर्खा भूपू सैनिकहरुका माग सम्बोधनका लागि बेलायत सरकारसँग तत्काल कुटनीतिक पहल गर्न सरकारसँग माग

काठमाण्डौ , चैत १ । प्रतिनिधिसभाका सांसदहरुले गोर्खा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न बेलायत सरकारसँग तत्काल कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्य दिव्यमणि राजभण्डारीले गोर्खा भूतपूर्व सैनिक संघहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न तत्काल पहल गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले बेलायत सरकारले गोर्खा भूतपूर्व सैनिक संघहरुलाई दिने पेन्सनलगायतको सेवा, सुविधामा विभेद गरिरहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न परराष्ट्रमन्त्री नेतृत्वकै एक उच्च समिति गठन गर्न पनि माग गरिन।

समितिका अर्का सदस्य भीम रावलले भूतपूर्व गोखा सैनिकहरुलाई बेलायत सरकारले दिने पेन्सनलगायतका सेवा सुविधामा विभेद गरेको भन्दै समस्या समाधानका लागि पहल नगरेकोमा सरकारको आलोचना गरे । उनले गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग तत्काल कुटनीतिक पहल गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भने सरकार गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग प्रयासरत रहेको बताए । उनले गोर्खा सैनिकहरुलाई समानताको आधारमा पेन्सनलगायतका सेवा, सुविधा उपलब्ध गराउन तथा उनीहरुको बलिदानको उचित कदर हुने गरी बेलायत सरकारसँग कुटनीतिक पहल गर्न तयार रहेको पनि स्पष्ट पारे ।

बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुलाई सन्तुष्ट बनाउनुपर्ने मान्यतामा नेपाल सरकार अडिग रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।

मन्त्री ज्ञवालीले सरकारले हालसम्म गोर्खा सैनिकमा भर्ना भएका, बलिदान दिएकाहरुको अभिलेखीकरण गर्ने कामलाई अघि बढाएको पनि समितिलाई जानकारी दिए । उनले हरेक देशका छुट्टा छुट्टै सूचना प्रणालीहरु भएकाले त्यस काममा केही ढिलाइ भए पनि सरकारले त्यससम्बन्धी अभिलेखीकरण गर्ने र गोर्खा भूतपूर्व सैनिकहरुको समस्या समाधान गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

बैठकमा समितिका सदस्यहरुले अझै पनि गोर्खा सैनिकमा भर्ना भएकाहरुको अभिलेख समेत राख्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्