निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौं, फागुन ३० । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्ने आदेश गरेको छ।
डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख धरौटी माग्ने आदेश गरेको हो।
उनीहरूसँग यातनामा ५र५ लाख र सार्वजनिक न्यायमा ४र४ लाख धरौटी माग्ने आदेश अदालतले गरेको छ।
इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो।
जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीकाअनुसार उनीहरूले धरौटी बुझाएमा रिहा हुनेछन् भने नबुझाएमा थुनामा रहनेछन्।
मुलुकी ऐनको नयाँ व्यवस्थाअनुसार ६ जना प्रहरीहरुलाई फागुन २३ गते जिल्ला अदालत उपस्थित गराइएको थियो।
एसपी दिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने अदालतमा उपस्थित भएका थिएनन्।
उनीहरुलाई २१ दिनभित्र अदालत उपस्थित हुन म्याद थप गरिएको छ भने प्रहरीले फरारको सूचीमा पनि राखेको छ।
गत साउन १० गते साथीको घरमा जान्छु भनेर हिँडेकी बालिका पन्त भोलिपल्ट ११ गते नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्।
उनलाई बलात्कारपछि हत्या गरिएको बताइए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्