च्याम्पियन्स लिग फुटबल: म्यानचेस्टर सिटी र युभेन्ट्स क्वाटरफाइनलमा, रोनाल्डोले गरे ह्याट्रिक

काठमाडौं , फागुन २९। म्यानचेस्टर सिटी र युभेन्टस् च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब शाल्केमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी क्वाटरफाइनल प्रवेश गरेको छ ।

गएराति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब शाल्केलाई ७–० गोल अन्तरले हराएको हो ।

सिटी समग्रमा १०–२ को नतिजासहित अन्तिम ८ मा पुगेको हो । पहिलो लेगको खेलमा सिटीले ३–२ को अग्रता लिएको थियो ।

यसैगरी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा ईटालियन क्लब युभेन्ट्स पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३–० को जितसहित युभेन्ट्स अन्तिम ८ मा प्रवेश गरेको हो । युभेन्टस् समग्रमा ३–२ को नतिजा निकाल्न सफल रह्यो ।

खेलको २७ औं, ४९ औं र ८६ औं मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ को यात्रा तय गराए ।

पहिलो लेगमा लिएको अग्रतालाई जोगाउन नसक्दा एट्लेटिको मड्रिड प्रि क्वाटरफाइनलबाट बाहिरिन बाध्य भयो ।

घरेलु मैदानमा पहिलो लेगमा २–० को अग्रता लिएर नकआउट चरण पार गर्न नसक्ने एट्लेटिको इतिहासको चौथो क्लब बनेको छ ।

प्रतिक्रिया दिनुहोस्