झण्डै ३० प्रतिशत युवा वैदेशिक रोजगारमा
काठमाण्डौ, फागुन २८ । झण्डै ३० प्रतिशत युवा वैदेशिक रोजगारमा रहेको एक अध्यनले देखाएको छ । ३० प्रतिशत युवा कामको खोजीमा विदेशिने गरेको एक अध्ययनले देखाएको हो ।
कूल जनसँख्याको झण्डै ४४ प्रतिशत युवा रहेका र त्यसमध्ये झण्डै ३० प्रतिशत युवा काम खोज्दै विदेशिने गरेको राष्ट्रिय युवा नेतृत्वको अध्ययनले देखाएको हो ।
काम खोज्दै विदेशिनेमा सबैभन्दा धेरै २१ देखि ३४ वर्ष उमेर समूहका युवा रहेको अध्ययनमा उल्लेख छ ।
मंगलबार काठमाण्डौमा भएको एक कार्यक्रममा युवा नेतृत्वले अध्ययन सार्वजनिक गरेको हो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशमा भएको काम छाडेर युवा विदेशिनुको कारण खोज्ने बताएका छन् ।
उनले देशभित्रै बसेर आम्दानी गर्न सकिने काम छाड्दै बर्सेनि धेरै युवा विदेशिनुको कारण खोज्ने र देशमा काम गर्ने वातावरण बनाउन सरकारले सक्दो पहल गर्ने बताए ।
‘एकतिर श्रम बजारमा जनशक्तिको अभाव छ, अर्कातिर युवाहरुले काम पाइरहेका छैनन्, लाखौं युवा विदेश गइरहेका छन्, यसलाई सन्तिुलित गर्न आवश्यक छ,’ मन्त्री विष्टले भने, ‘ वैदेशिक रोजगारीमा युवा किन आकर्षित भइरहेका छन् अध्ययन गर्न आवश्यक छ र यो काम सरकाले गर्नेछ ।’
सरकारले युवालाई विभिन्न खालका सीपमुलक तालिम दिए पनि बजारको आवश्यकता र सरकारले दिएको तालिमबीच तालमेल नभएको भन्दै मन्त्री विष्टले सबै युवालाई आवश्यकता अनुसारको तालिम दिएर कामका लागि तयार पार्ने स्पष्ट पारे ।
युवालाई देशभित्रै रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीको ढोका खोलेको र सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भन्दै मन्त्री विष्टले स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताए ।
त्यसैगरी स्वदेशको रोजगारीसँगै वैदेशिक रोजगारीलाई पनि पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन सरकारले कामदारको सुरक्षाको प्रत्याभूति हुनेगरी गन्तव्य देशसँग श्रम समझदारी गर्ने र गुणस्तरीय रोजगारीको सम्भावना रहेका देशमा कामदार पठाउन सरकारले काम गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कामको खोजी गरिने र त्यसै अनुरुप बेरोगार युवालाई न्यूनतम सय दिनको रोजगारीको ग्यारेण्टी गरिने बताए ।














प्रतिक्रिया दिनुहोस्