पुनर्निर्माणमा खटिएका प्राविधिक इञ्जिनियर फेरि आन्दोलितः माग पूरा गर्न एकहप्ते अल्टिमेटम


काठमाडौं, फागुन २८ । पुनर्निर्माणमा खटिएका प्राविधिक इञ्जिनियरले फेरि आन्दोलन थालेका छन् । सरकारले पुनर्निर्माणमा खटिएका प्राविधिकले पाउँदै आइरहेको भत्ता तथा सेवा सुविधाबारे निर्णय गर्न ढिलो गरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

काठमाण्डौमा भएको प्राविधिक इञ्जिनियरको राष्ट्रिय भेलाले पाँच बुँदे मागसहित आन्दोलनका कार्यक्रम तय गरेको हो । उनीहरुले भौगोलिक तथा प्रोत्साहन भत्ता र तलब मासिक रुपमा दिनुपर्ने, गएको साउनदेखिको भत्ता उपलब्ध गराउनुपर्ने, स्वास्थ्य तथा सुरक्षा बीमा हुनुपर्ने, स्थानीय तहमा छुट्टै पुनर्निर्माण शाखा राख्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिले माग पूरा गर्न प्राधिकरणलाई एकहप्ते अल्टिमेटमसमेत दिएको छ । विभिन्न जिल्लाबाट दबाब दिँदा पनि प्राधिकरणले आफ्ना माग नसुनेको प्राविधिक इञ्जिनियर समितिका अध्यक्ष अविनाश मगरले बताए ।

साथै समितिले ललितपुर र काठमाण्डौका जिल्ला आयोजना कार्यान्वयन इकाईमा पनि ज्ञापनपत्र बुझाएको छ । घर पुनर्निर्माण गर्ने मुख्य समयमा प्राविधिकले आन्दोलन गरेपछि घर बनाउन थालेका भूकम्प प्रभावितलाई थप समस्या हुने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक इञ्जिनियरका माग संबोधन गर्ने प्रक्रियामै रहेकाले आन्दोलन नगरी काममा फर्कन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्