प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने
काठमाडौं, फागुन २८ । प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रूप पाउँदै छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रदेश निजामती सेवा तथा प्रहरी सेवामा तत् तत् प्रदेशभित्रका नागरिक मात्रै छनोट हुनुपर्ने भनी राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले अस्वीकार गरेको छ ।
ऋष्तष्शभल
राष्ट्रिय सभाले पारित गरिसकेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक प्रतिनिधिसभाको समितिमा छलफलका क्रममा छ । समितिको सोमबार भएको बैठक विधेयकमा रहेको प्रदेश निजामती सेवा र प्रदेश प्रहरी सेवाको परिभाषालाई फेरबदल नगर्ने निष्कर्षमा पुगेको हो ।
विधेयकमा प्रदेशभित्रका नागरिकलाई कुनै फरक वा विशेष प्राथमिकता दिइएको छैन । त्यही व्यवस्थाअनुसार प्रदेशको लोकसेवा आयोगले निकाल्ने विज्ञापनमा अन्य प्रदेशका बासिन्दाले पनि प्रतिस्पर्धा गर्न र जागिर पाउन सक्नेछन् ।
सांसद सुवालले प्रदेशभित्रका नागरिकले अवसर पाउनुपर्ने तथा अन्य प्रदेशका नागरिकलाई भाषा, संस्कृतिको समेत समस्या हुने भन्दै ‘तत् तत् प्रदेशभित्रका नागरिकबाट छनोट भएका’ हुनुपर्नेसंशोधन हालेका थिए । प्रधानमन्त्री कार्यालयका सचिव रमेश ढकालले प्रदेश निजामती र प्रदेश प्रहरी सेवामा तत् प्रदेशका व्यक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था संविधानअनुसार नमिल्ने समितिसमक्ष तर्क गरेका थिए ।
उनले संविधानको धारा १७ ले दिएको स्वतन्त्रताको हकअन्तर्गत कुनै पनि व्यक्तिलाई नेपालको कुनै भागमा पेसा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसाय स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता रहेको स्मरण गराए ।–कान्तिपुर दैनिकबाट















प्रतिक्रिया दिनुहोस्