तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा ६० जना मारिए

काठमाडौं, फागुन २६ । अफगानी सुरक्षाकर्मीले गत २४ घण्टाको अवधिमा तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परि कम्तीमा ६० जना लडाकू मारिएका छन्।

विषेश सुरक्षा बलले गरेको सो कारबाहीका क्रममा ती तालिबान लडाकूहरू मारिएका सुरक्षा अधिकारीले जानकारी दिएका छन्।

स्रोतहरुलाई उद्धृत गर्दै खामा प्रेसले जनाएअनुसार २९ जना तालिबान लडाकूहरू बाराकी बाराक र चार्खमा मारिएका हुन्।

सो घटनामा परि एक जना तालिबान लडाकू कमाण्डर घाइते भएका छन् भने विस्फोटक पदार्थ विस्फोटन हुदा एउटा सवारी साधन जलेर नष्ट भएको छ।

सुरक्षाकर्मीहरूले घटनास्थलबाट बम बनाउने अन्य सामग्री पनि नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जानाकारी दिएको छ।

त्यस बाहेक अफगान विषेश सुरक्षा फौजले सामान्गाममा पर्ने राजमार्गमा गरेको सुरक्षा कारबाहीमा परि चार जना तालिबान लडाकू मारिएका छन् भने तीन जना घाइते भएका छन्।

त्यस्तै आक्रमण उनीहरुले हेल्मन्ड प्रान्तको नोवजाड र मुस क्वाल जिल्ला र उरुज्गान प्रान्तको तारिङ्क सहरमा पनि गरेका थिए।

ती आक्रमणहरूमा परि १२ जना लडाकू मारिएका सुरक्षा अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्