लामो समय सम्म विवादमा परेको रानीपोखरीको पुनर्निर्माण आठ महिनामा सकिने
काठमाडौं, फागुन २६ । रानीपोखरीको पुनर्निर्माण आठ महिनामा सकिने भएको छ
। प्राधिकरणले मल्लकालीन ग्रन्थकुट शैलीमा रानीपोखरी पुनर्निर्माणको काम थालेको छ ।
रानीपोखरी पुनर्निर्माणमा कुन शैली अपनाउने भन्ने विषयले तीन वर्ष लामो समय सम्म विवादमा परेको थियो । अहिले आएर यसको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मामा पुगेको छ ।
तीन वर्ष पहिले राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरीको अहिलेसम्म पुननिर्माण हुन् सकेको छैन् ।
मध्यभागको बालगोपालेश्वर मन्दिरमा ढलानयुक्त संरचना ठड्याइएपछि विरोध भएको थियो ।
त्यसपछि मन्दिर पुरातत्व विभागले र पोखरी महानगरले बनाउने भनियो । तर मन्दिरको शैली र पोखरी निर्माणमा प्रयोग गरिने सामग्रीमा गलफत्ती चल्यो । बनाउँदै, विवाद बेहोर्दै, भत्काउँदै गर्दा तीन वर्ष खर्च भयो । प्राधिकरणले मन्दिर मल्लकालीन ग्रन्थकुट शैलीमा बनाउने भएको छ ।
पोखरी परम्परागत अमानत प्रणाली अर्थात् ज्याला पद्धति अपनाएर काम थालेको छ । ८ महिनामा दुबै संरचना बनाइसक्ने लक्ष्य छ । परम्परागत तरिकाले पोखरी निर्माणमा सहभागी हुन पाउँदा अपनत्व बढेको स्थानीयबासी बताउँछन् । पुननिर्माणका लागि पोखरी र मन्दिर पिँधसम्म भत्काइनेछ ।
कमजोरी दोहोरिन नदिन र काम विवादमुक्त बनाउन प्राधिकरणले अनुसन्धानको पक्षसमेत एकसाथ अघि बढाउनुपर्ने विज्ञको सुझाव छ । परम्परागत शैलीमै पुनर्निर्माण थालनीले सकारात्मक सन्देश दिएको छ । तर अब कुनै पनि बहानामा काम रोकिने स्थिति आउन नदिन सतर्कता पनि त्यत्तिकै जरुरी देखिन्छ ।














प्रतिक्रिया दिनुहोस्