इंग्लिस प्रिमियर लिग : टोटनह्याम साउथह्याम्पटनसँग २–१ ले पराजित
काठमाडौं, फागुन २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम साउथह्याम्पटनसँग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा टोटनह्यामलाई साउथह्याम्पटनले २–१ गोलअन्तरले पराजित गरेको हो । साउथह्याम्पटनका लागि यान भलेरी र जेम्स वार्डले गोल गरे । यता, टोटनह्यामका लागि ह्यारी केनले गोल गरेका थिए ।
२६ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । उनकै गोलमा टोटनह्यामले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा साउथह्याम्पटनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो ।
७६ औं मिनेटमा भलेरीले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको अवस्थामा ल्याए । ८१ औं मिनेटमा वार्डले गोल गरेपछि साउथह्याम्पटनले टोटनह्यामलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
हारपछि टोटनह्यामको ३० खेलबाट ६१ अंक भएको छ । यता, साउथह्याम्पटनले भने ३० खेलबाट ३० अंक जोड्न सफल भएको छ ।
त्यस्तै प्रिमियर लिगअन्तर्गत नै भएको अर्को खेलमा लेष्टर सिटीले फुलह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अन्य खेलमा भने न्युक्यासलले एभर्टनलाई ३–२ ले पराजित गरेको छ । त्यस्तै, ब्राइटनले क्रिष्टल प्यालेसलाई २–१, कार्डिफ सिटीले वेष्ट ह्यामलाई २–० गोलले पराजित गर्दा बर्नमाउथले हडर्स्फिल्डलाई २–० गोलअन्तरले नै पारजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्