अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा जमुना र विनालाई सम्मान

काठमाडौं , फागुन २४ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एएफसी महिला फुटबल दिवसको उपलक्ष्यमा नेपाली महिला फुटबलका दुई व्यक्तित्वलाई सम्मान गरेको छ ।

नेपाली महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान जमुना गुरुङ र फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठ शुक्रबार सम्मानित भएका हुन् । सन् १९९९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी जमुनाले झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट खेलेकी थिइन् ।

उनले राष्ट्रिय टोलीबाट २४ खेल खेल्दै ३५ गोल गरेकी थिइन् । चोटका कारण खेलबाट बाहिरिएकी जमुना हाल यू(१९ राष्ट्रिय महिला टोलीको व्यवस्थापन सम्हालिरहेकी छिन् ।

यस्तै फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठ पनि सम्मानित भइन् । उनी ओलम्पिक छनोट खेलाउने पहिलो रेफ्री बनेपछि एन्फाले उनलाई सम्मानित गरेको हो ।

उनले गत नोभेम्बरमा भएको ओलम्पिक छनोटको पहिलो चरणको खेलमा जिम्मेवारी निर्वाह गरेकी थिईन् । दुवै व्यक्तित्वलाई अखिल नेपाल महिला फुटबल संघले पनि सम्मान गरेको हो ।

एन्फाले हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा मनाइने एएफसी महिला फुटबल दिवस विविध कार्यक्रमबीच मनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्