महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यकः मन्त्री थापा

काठमाडौँ, फागुन २४ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाका सबै अधिकार व्यवहारमा कार्यान्वयन गर्न सामाजिक रुपान्तरण आवश्यक भएको बताएकी छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले १०९ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अझै पनि महिलामाथि अमानवीय व्यवहार हुने गरेको र सामाजिक कूरितीको शिकार हुनुपरेको बताउँदै यसको अन्त्यका लागि सामाजिक रुपान्तरण आवश्यक रहेकोमा जोड दिईन ।

उनले मुलुकमा प्रजातान्त्रिक आन्दोलनसँग महिलाका अधिकार स्थापित हुदै गएको र संविधानसभाबाट जारी नेपालको संविधानले महिलाका धेरै अधिकार उल्लेख गरेको बताउँदै ती अधिकार कार्यान्वयनका लागि सरकार कानून निर्माणमा जुटेको धारणा व्यक्त गरिन् ।

मन्त्री थापाले सरकारले सङ्कल्प गरेको सुखी नेपाली र समृद्ध नेपालको अभियान सफल बनाउन आधा प्रतिशत भन्दा बढी जनसङ्ख्या रहेको महिलाको समृद्धि आवश्यक रहेकोे बताइन ।

राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले स्थानीय समुदाय अधिकार सम्पन्न भएमात्रै स्थानीय र प्रदेश सरकार सबल हुने बताउँदै प्राकृतिक स्रोतमाथि स्थानीय समुदायका अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गर्ने धारणा व्यक्त गरीन् ।

प्रतिक्रिया दिनुहोस्