सरकारले असाधारण रुपमा काम गरिरहेको छ: प्रधानमन्त्री ओली

काठमाण्डौ , फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले असाधारण रुपमा काम गरिरहेको बताएका छन् ।

नेकपाले एक साताअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जना र नेकपाका अग्रज नेता भरतमोहन अधिकारीको निधनमा संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दिवंगत रवीन्द्र अधिकारीले संस्कृतिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा र नागरिक उड्डयनको क्षेत्रमा असाधारण काम गरेर सबैको प्रिय बन्न सफल हुनुभएको बताए ।

भृकुटी मण्डपमा नेकपाले आयोजना गरेको संयुक्त श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सरकारले कामै गरेन भनेर जसरी प्रचार गरिएको थियो त्यसलाई चिर्न मन्त्री बनेको एक वर्षको अवधिमा अधिकारीले असाधारण योगदान दिनुभएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा पनि गरे ।

भरतमोहन अधिकारी, रवीन्द्र अधिकारीलगायतको निधनले कम्युनिष्ट आन्दोलनका लागि र देशका लागि ठूलो क्षति भएको भन्दै उहाँहरुको अभाव सधैँ खड्किरहने बताए ।

भरतमोहन अधिकारीको निधनले अभिभाव गुमाएको अनुभूति आफूलाई लागेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन, कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान बिर्सनै नसक्ने खालको रहेको बताए ।

सधैँ काममा विश्वास गर्ने अधिकारीलाई कसैले भुल्छु भनेर पनि नसकिने उनले बताए । यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवीन्द्र अधिकारी, भरतमोहन अधिकारीजस्ता नेताको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताए ।

मृतकहरुले गर्न चाहेका, गर्न खोजेका राम्रा कामलाई अगाडि बढाए मात्रै उहाँहरुप्रति गरिने श्रद्धाञ्जलीको सच्चा सम्मान हुने भन्दै पार्टीले उहाँहरुले अघि बढाउनुभएको राम्रा कामलाई निरन्तरता दिन कुनै कसर बाँकी नराख्ने बताए ।

शोकलाई उर्जामा बदल्दै राष्ट्र निर्माणको काममा सकारात्म योगदान दिनेगरी पार्टीले काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्