निर्मला हत्या प्रकरण फेरी नयाँ मोडमा, ६ जना पक्राउ, दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा

काठमाडौं, फागुन २३ । निर्मला हत्या प्रकरण फेरी अर्को नयाँ मोडमा पुगेको छ । घटनापछि प्रमाण नष्ट गरेको र पक्राउ परेकालाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसप) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको उजुरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो ।

डिएसपी कृष्णराज ओझाका अनुसार यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा परेको हो ।

यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा परेको छ ।

सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।

केन्द्रिय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो । उनीहरु सबै कञ्चनपुर प्रहरीको हिरासतमा रहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

विष्ट र अंगुर जिसी भने अदालतमा उपस्थित भएनन् । अब अदालतमा दुवै पक्षको बहस हुने बताइएको छ । गएको साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको समितिको प्रतिवेदनमा पनि उल्लेख थियो । निर्मलाको बलात्कार तथा हत्यामा संलग्नको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्