दीर्घकालीन सोचसहितको १५ औँ योजनाको मस्यौदा तयार

काठमाडौँ , फागुन २३ । राष्ट्रिय योजना आयोगले दीर्घकालीन सोचसहितको १५ औँ योजनाको मस्यौदा तयार पारेको छ।

उक्त मस्यौदामा सरकारले आगामी पाँच वर्षमा ९७ खर्ब ७७ अर्ब ७५करोड लगानी गर्ने योजना बनाएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न १५ औँ पञ्चवर्षीय योजना सफल हुने दाबी गरे। उनले भने ‘आगामी २५ वर्षका लागि दीर्घकालीन सोच समेत तयार भैरहेको छ।’

यसरी हुने कुल लगानी मध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ सरकारले लगानी गर्ने छ। जुन कुल लगानीको ३८.६ प्रतिशत हो। त्यस्तै निजी क्षेत्रले भने ५६ खर्ब ८३ अर्ब ८८ करोड लगानी गर्ने सुरुवाति अनुमान गरिएको छ, जुन कुल लगानीको ५८.१ प्रतिशत हो।
त्यस्तै सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड लगानी हुने आयोगले अनुमान गरेको छ।

उक्त लगानीबाट आर्थिक वर्ष २०८०र८१ को कुल उत्पादनको आकार ५५ खर्ब १६ अर्ब पुग्ने र प्रतिव्यक्ति आय १५८३ डलर पुग्ने अनुमान गरिएको छ। आगामी पाँच वर्षमा मुलुकको औषत आर्थिक वृद्धिदर ९.३ प्रतिशत हुने अनुमान आयोगको छ।

आर्थीक वर्ष २०८०र८१ मा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २२.१ प्रतिशत हुनेछ भने उद्योग क्षेत्रको योगदान २०.३ प्रतिशत रहनेछ। गत आर्थिक वर्ष २०७४र७५ मा अर्थतन्त्रमा कृषिको योगदान २७.६ प्रतिशत थियो भने उद्योगको १४.८ रहेको थियो।

आयोगले आउने पाँच वर्षभित्र १७ वटा राष्ट्रिय आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य लिएको छ। जसमा निजगढ विमानस्थलबाट फास्ट ट्रयाकसम्म समावेश गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्