टीकापुर प्रकरण : अदालतको फैसलापछि घटनाका पीडित परिवारले भने- न्याय पायौं‌

काठमाडौं, फागुन २२ । अदालतको फैसलापछि टीकापुर घटनाका पीडितले न्यायको अनुभूति पाएको प्रतिक्रिया दिएका छन् ।

टीकापुर घटना भएको साढे तीन वर्षपछि बुधबार जिल्ला अदालत कैलालीले फैसला सुनाएको हो ।

फैसलाअनुसार रेशम चौधरी सहित ११ जनामाथि जन्मकैदको सजाय सुनाइएको छ । यो फैसलापछि ९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाका पीडितले न्यायको अनुभूति पाएको प्रतिक्रिया दिएका हुन् ।

२०७२ भदौ ७ गते टीकापुर घटनामा ज्यान गुमाएका डेढ बर्षीय बालक टेक बहादुर साउदका बुवा नेत्र साउदले ढिलै भएपनि अदालतको फैसलाले आफूलाई न्यायको अनुभूति भएको बताए । ‘छोरा गुमाउँदाको पीडा त छदै छ तर अदालतको आजको फैसलाले अत्यधिक खुशी पनि लागेको छ, निर्दोषले छुट्ने मौका पाए र दोषीलाई कारबाही हुने भयो’, उनले भने ।

त्यसैगरी घटनामा ज्यान गुमाएका सशस्त्र प्रहरी बलका वरिष्ष् हवल्दार ललित साउदका दाजु सुरत साउदले पनि फैसलाबाट न्याय मिलेको अनुभूति भएको बताए । उनले भने, ‘फैसला चाँडै हुनुपर्ने थियो तर ढिलै भएपनि न्याय पाइयो अत्यधिक खुशी लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्