सरकार युवा तथा खेलकुदको विकासमा प्रतिवद्ध छः मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) रसिया सरकारको खेलकुद मन्त्रालय, युनेस्को र FISU को आयोजनामा रसियाको क्रस्नायार्क सहरमा मिति २०१९ मार्च १–५, सम्म संचालन भएको “An Informal meeting of the Ministers responsible for physical education and sports” सम्बन्धी कार्यक्रममा सहभागी भएका छन् ।

सो कार्यक्रमको मुख्य विषय “Youth Development in and through sport as critical components of the Kazan Action Plan and the UN action plan on SDP” रहेको थियो । उक्त कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री विश्वकर्माले “Sport for Youth Empowerment in Nepal” विषयमा आफ्नो धारणा राखेका थिए ।

उनले वर्तमान सरकार युवा तथा खेलकुदको विकासमा प्रतिवद्ध भएको जानकारी दिँदै युवा तथा खेलकुदका विकासमा नेपालले गरिरहेका प्रयास, आगामी नीति, योजना तथा कार्यक्रमहरूका बारेमा समेत प्रकाश पारे । उनले मन्तव्यका क्रममा खेलकुद विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र समझदारी आवश्यक पर्ने कुरा पनि राखेका थिए ।

साथै, सोही कार्यक्रमका सिलसिलामा मार्च ३, २०१९ का दिन मन्त्री विश्वकर्माले रूसी महासंघका समकक्षी माननीय खेलकुद मन्त्री Pavel KOLOBKOV सँग दिपक्षीय भेटघाट गरेका थिए । भेटघाटका क्रममा नेपाल र रूसी महासंघ बीच कुटनीतिक, आर्थिक तथा सरकार एवं जनस्तरमा रहेका सम्बन्धका चर्चा भएको थियो । असल मित्रका रूपमा नेपालको विकासका लागि रूसी महासंघले सडक पुर्वाधार, अस्पताल, उद्योग लगायत नेपालमा २०१५ गएको विनासकारी भूकम्पमा गरेको सहयोगका लागि नेपाल सरकारका तर्फबाट मन्त्री विश्वकर्माले धन्यवाद दिए ।

मन्त्री विश्वकर्माले मिति २०१९ मार्च ४ मा रसियाको राजधानी मस्कोमा नेपाली राजदुतावास तथा गैर आवासीय नेपाली संघ, रसियाले आयोजना गरेको कार्यक्रममा समेत सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्