४ खेलाडीलाई पछि पार्दै सन्दीप बने वर्षका उत्कृष्ट पुरुष खेलाडी !

काठमाडौं, फागुन २१ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् । सन्दीपले उपाधिसँगै १ लाख ३२ हजार रुपैयाँ प्राप्त गरे ।

सन्दीपले अवार्ड जित्ने क्रममा कप्तान पारस खड्कासँगै दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछाडी पारे ।

खेलाडीहरुको अघिल्लो वर्षदेखि युएईविरुद्धको सिरिजमा गरेको प्रदर्शनका आधारमा विजेता छनोट गरेको सिप्यानले जनाएको छ । सन्दीपको अनुपस्थितिमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले उनको उपाधि ग्रहण गरे ।

सन्दीपले सन् २०१८ र १९ मा राष्ट्रिय टोलीबाट कुल ३२ खेल खेले । यसक्रममा उनले ८४ विकेट हात पारेका छन् । उनले वान डे खेलमा ५५ विकेट र १० टि-२० खेलमा २९ विकेट हात पारेका छन् । डिभिजन २ मा सन्दीपले नामिबियाविरुद्ध ४ र केन्याविरुद्ध ५ विकेट लिएका थिए । विश्वकप छनोटमा पनि उनले पपुवा न्यू गिनीविरुद्ध ४ तथा हङकङविरुद्ध ३ विकेट लिएका थिए ।

यूएईविरुद्ध ओडीआई सिरिजमा ७ विकेट लिएका सन्दीपले त्यसअघि एसिया कप छनोटमा ५ खेलमा १४ विकेट लिए । टि-२० विश्वकप छनोटमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा २४ विकेट हात पारेका थिए ।

त्यस्तै महिलातर्फ सीता रानामगरले एनसिसीएस अवार्ड जितेकी छन् भने कोमलबहादुर पाण्डेलाई लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्‍मानित गरिएको छ।

रोहितले उदियमान खेलाडीको प्रतिस्पर्धामा अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी र सन्दीप जोरालाई पछि पारेका हुन्। उनले अवार्ड सहित ६६ हजार नगद पुरस्कार पाएका छन्।

प्रतिक्रिया दिनुहोस्