फेरी निस्किए पूर्वराजा ज्ञानेन्द्र भ्रमणमा, यस्तो छ तालिका

काठमाण्डौं, फागुन २१। पूर्वराजा ज्ञानेन्द्र शाह फेरी भ्रमणमा निस्कने भएका छन् ।

झण्डै एक महिनायता झापा दमकस्थित मिनी दरबारमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि तराईका जिल्लामा निस्कने भएका हुन्।

शाह बुधबार दमकबाट जनकपुर जाने कार्यक्रम छ । उनी २३ गते जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवास्थित शिव मन्दिर जानेछन् ।

उनको निजी सचिवालयका अनुसार शाहले २४ गते जानकी मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम छ ।

२५ गते शाह उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिर जानेछन् । गाइघाटबाट उनी जनकपुर फर्किएर बास बस्नेछन् । २६ गते राजविराजस्थित छिन्नमस्ता मन्दिरमा पूजापाठ गरी दमक फर्किने पूर्वराजाको कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।

दमकबाट शाह काठमाण्डु फर्किने मिति भने टुंगो लागेको छैन् ।

गत माघ २३ गते शाह सिमरा हुँदै झापा पुगेका थिए । जाडो छल्न भन्दै हिउँदको एक महिना पूर्वराजा–रानी दमक जाने गरेका छन् ।

झापा जाँदा पूर्वराजा आफ्नो स्वमित्वमा रहेको हिमालय गुडरिक चिया बगानभित्रको दरबारमा बस्ने गरेका छन् । यहाँ रहँदा उनले शुभचिन्तक, निकट दलका नेताहरूसँग भेटघाट पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्