अन्सारीबारे आज पनि सुनुवाइ समितिले निर्णय लिन सकेन, ३ दिन समय थपियो

काठमाडौं, फागुन २१ । संसदीय सुनुवाइ विशेष समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीबारे आज पनि निर्णय लिन सकेन ! निर्णय लिन ३ दिनको समय थपेको छ।

समितिको आजको बैठकले अन्सारीलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिन नसकेपछि ३ दिनको समय थपिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

‘अन्सारीले प्रस्तुत गरेका प्रमाणपत्रहरु विवादास्पद देखिएकाले थप छानविनको लागि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक कागजात मगाउने निर्णय भएको छ’, सभापति कर्णले भने, ‘यसका लागि ३ दिन थप गरिएको छ। अर्को बैठकमा निर्णय लिन्छौं।’

संवैधानिक परिषदले अन्सारीलाई सिफारिस गरेको मितिअनुसार थप ३ दिन समय थपिँदा ४५ दिन पुग्छ। यदि ४५ दिनसम्म समितिले निर्णय लिन नसके अन्सारी स्वतः मुस्लिम आयोगको अध्यक्षमा अनुमोदन हुने छन्।

समितिको ३ दिन समय थप्ने निर्णयलाई धेरैले अन्सारीलाई स्वतः अनुमोदन गराउने प्रयासका रुपमा शंका समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्