मुख्यमन्त्री पोख्रेलसँग जर्मनीका राजदूतको भेट: जर्मनीले भन्यो- नेपालको विकासमा निरन्तर सहयोग रहन्छ !
काठमाडौं, फागुन १९ , पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग मित्र राष्ट्र जर्मनीका राजदूत रोल्याण्ड स्याफर सहितको टोलीले भेटवार्ता गरेको छ ।
आज मुख्यमन्त्री कार्यालयमा भएको भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको, प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा संघीय संरचनाअनुसार सांगठनिक संरचना तयार भएको जानकारी दिएका थिए ।
उनले संघीयता कार्यान्वयनका क्रममा विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको संघीयता मौलिक चरित्रको भएको बताएका थिए ।
प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको तथा नेपालको विकास प्रयासमा यो प्रदेशलाई नमूना बनाउन खोजेको जानकारी दिए ।
उनले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति प्रशंसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरिएको र जर्मनीका लगानीकर्ता इच्छुक भए स्वागत गर्न तयार रहेको बताए ।
भेटमा राजदूत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए । उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानुनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
भेटमा जर्मन संसदका सदस्य टोविया पिफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसदका प्रमुख मोनिका हेइन लगायत सहभागी रहेका थिए । भेटमा टोलीले केही दिनअघि हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहितको निधन भएकोमा स्तब्ध भएको भन्दै सहानुभूति व्यक्त गरेको छ ।
मुख्यमन्त्रीले शोकको घडीमा सहानुभूति दिएकोमा आधार व्यक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । यस्तै आजै प्रदेशसभा प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीसँग संघीय गणतन्त्र जर्मनीका नेपालका लागि राजदूत रोल्यान्ड सेफर र संसद टोविस फ्रेजरको प्रतिनिधिमण्डल बीच प्रदेशसभा सचिवालयमा भेट भएको छ ।
प्रदेशसभा सञ्चालन र संघीयता कार्यन्वयन सम्बन्धमा छलफल भएको थियो ।














प्रतिक्रिया दिनुहोस्