भारतबाट वैशाखसम्म नेपालमा पाइपलाइनबाट इन्धन आउने
काठमाडौं, फागुन १९ । आउने वैशाखसम्म नेपालमा पाइपलाइनबाट इन्धन आउने भएको छ ।
राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएसँगै वैशाखसम्म पाइपबाट इन्धन आउने सम्भावना बढेको हो ।
आयोजनाले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रूख कटान गर्ने अनुमति पाएको छ ।
एक महिनामा जंगलभित्र पनि पाइपलाइन तयार गरी आगामी वैशाखभित्र पाइपमार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ ।
पेट्रोलियम पाइपलाइन आयोजना कार्यालय प्रमुख प्रदीप यादवका अनुसार थलैयादेखि अमलेखगन्जसम्म पर्ने करिब नौ किलोमिटर क्षेत्रमा रूख कटान सुरु भएको छ । एक महिनाभित्र जंगल क्षेत्रमा पाइप बिछ्याइसकिने र वैशाख महिनाभित्र नेपालमा पाइपमार्फत तेल आउने उनले बताए ।
मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माण भारतीय कम्पनी निखिथा इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । एक वर्षदेखि निर्माणमा जुटेको कम्पनीले नेपालतर्फको अधिकांश काम सकेपछि निकुञ्ज क्षेत्रमा पर्ने रूख कटानको आदेश नपाउँदा अल्झिएको थियो ।
वन मन्त्रालयले रूख काट्ने अनुमति दिएसँगै काम तीव्र रूपमा अघि बढेको आयोजनाले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्